राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा भेटघाट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ।

बिहीबार दिउँसो ओली र भण्डारीबीच शीतल निवासमा एक घण्टा ४० मिनेट छलफल भएको हो। प्रधानमन्त्री ओली दिउँसो १२ः ४० बजे शीतल निवास छिरेका थिए। भेटवार्ता सकेर ओली शीतल निवासबाट बाहिरिएका छन्।

यसैबीच राष्ट्रपति भण्डारीले अनपेक्षित रुपमा राष्ट्रियसभामा सम्बोधनको इच्छा व्यक्त गरेकी छन्। राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। राष्ट्रियसभाको यो अधिवेशनको सुरुतिर राष्ट्रपतिले सम्बोधनको इच्छा व्यक्त गरेकी हुन्।

आउँदो आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न चाहेको जानकारी गराएका हुन्।

सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरूबेला राष्ट्रपतिले संसदमा यसरी उपस्थित हुने परम्परा नरहेको संसद सचिवालयका कर्मचारीहरुको भनाई छ।

तर संविधानको धारा ९५ को उपधारा १ मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।