मन्त्रालयको गाडिभित्र अश्लील क्रियाकलाप: प्रहरी देखेपछि नाङ्गै भागेका थिए

भक्तपुरको घ्याम्पे डाँडामा सरकारी गाडीभित्र भएको यौन क्रियाकलापमा संलग्न युवती श्रीमानसँग झगडा गरेर निस्किएको र बाटामा हिँडिरहेका बेला बोलाएका पुरुषसँग ‘सहमति’मै त्यहाँ पुगेको प्रहरीले दाबी गरेको छ।

‘युवतीले नै सहमतिमा सम्बन्ध भएको बताएकी छिन्’, भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरीले भने। प्रहरीले बुधबार राति घ्याम्पे डाँडाको जङ्गलमा गाडी रोकेर यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार एक जना गाडीबाहिर बसेर रुँगिरहेका थिए भने ४१ वर्षीय जितबहादुर खत्री र २१ वर्षीया युवती यौन क्रियाकलापमा संलग्न थिए।

प्रहरीलाई देखेपछि बाहिर रुँघिरहेका शम्भु कार्की त्यहाँबाट भागेका थिए। शंका मान्दै नजिक पुगेर हेर्दा गाडी भित्र युवती नाङ्गै अवस्थामा देखिएको प्रहरीको भनाइ छ। प्रहरी आइपुगेको चाल पाएपछि जितबहादुर गाडीको ढोका खोलेर नाङ्गे त्यहाँबाट भागेका थिए।

‘तर हामीले उनीहरुलाई लखेट्दै पक्राउ गरि हाल्यौँ’, डीएसपी गिरीले भने। प्रारम्भिक सोधपुछमा युवतीले त्यस दिन आफू श्रीमानसँग झगडा गरेर निस्किएको र आफूलाई लिन बोलाएको पुरुष नआएकाले बाटामा एक्लै हिँडिरहेको अवस्थामा जितबहादुरसँग भेट भएको बताएको प्रहरीको भनाइ छ।

‘सृजनानगरमा म हिँडिरहेको थिएँ। उहाँहरुले गाडि रोकेर कुरा गर्नु भयो। हामीबीच पैसाको कुराकानी पनि भएको थियो। सहमतिपछि म उहाँहरुसँग जान तयार भएको थिएँ’, ती युवतीको भनाई उदृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।

युवतीलाई भेट्दा गाडीमा सवार दुवै जनाले मादक पदार्थ सेवन गरेको र युवतीले दुवैसँग यौन सम्बन्ध राख्न ‘सहमति’ गरेको बताइएको छ।

प्रहरीका अनुसार त्यस दिन श्रीमानको पर्सबाट एक सय रुपैयाँ झिकेको निहुँमा विवाद भएपछि युवती कलङ्कीस्थित कोठाबाट निस्किएकी थिइन्। करिब एक वर्षअघि ती युवतीले विवाहित पुरुषसँग विवाह गरेको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भएको खुलेको छ। प्रहरीले मुलुकी फौजदारी अपराध ऐन २०७४ को दफा एक सय २३ मा व्यवस्था भएको सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने अनुसार अनुसन्धान सुरु गरेको छ।

यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।