एमालेमा बसेर बर्वाद गर्नेहरुलाई युवासंघले तह लगाउनै पर्छ : महेश बस्नेत

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सम्मानजनक बिदाइ गर्न आफू तयार रहेको बताएका हुन्।

‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ। तर, एमालेमा बसेर बर्वाद गर्नेहरुलाई युवासंघले तह लगाउनै पर्छ,’ उनले भने।

बस्नेतले एमाले फुटाउन नेता नेपाललाई चुनौती दिए। नयाँ वानेश्वरमा भएको कार्यक्रममा उनले नेपालले समानान्तर गतिविधि जारी राखे युवासंघले पुत्ला जलाउन नरोक्ने बताए। नेपालले समानान्तर गतिविधि गरेर महाअपराध गरेको उनले आरोप लगाएका छन्।

‘तपाईँ समानान्तर गतिविधि गर्ने। समानान्तर कमिटी बनाउने। अध्यक्षको हजारौं पुत्ला तपाईँले जलाउने अभियान चलाउनु भयो। तपाईँले महाअपराध गर्नुभयो। त्यसैले तपाईँको पुत्ला जलेको हो,’ उनले भने। ओलीको पुत्ला जलाउन नेपालले अभियान चलाएको बस्नेतको आरोप थियो। आफ्नो एक/दुई पुत्ला जल्दैमा कोटेश्वरमा सुरक्षा बढाएको भन्दै उनले नेपालको आलोचना गरे।

‘केपी ओलीको पुत्ला जल्दा तपाईँलाई खुब स्वाद आयो। अनि आफ्नो पुत्ला जलेपछि निद हराम भो। कोटेश्वरमा सुरक्षाकर्मी बढाउनु भो,’ बस्नेतले भने।