सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवासमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुगेका देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

सीताले आराम गरिरहेको कोठमा पुगेर देउवाले नमस्कार गर्दा प्रचण्डले ‘उहाँ प्रधानमन्त्री शेरबहादुर देउवाजी’ भनेर चिनाएका थिए। प्रचण्डले यसरी चिनाउदा सीताले ‘चिने’ भनेर जवाफ दिएकी थिइन्।

प्रचण्डले सीतालाई आरजुसमेत भेट्न आउने जानकारी गराएका छन्। लामो समयदेखि ओछ्यान परेकी सीताको मनोबल यसरी मान्छेले भेट्दा बढ्ने प्रचण्डले सुनाए। ‘यसरी भेटघाट गरिदिएपछि उनको मनोबल पनि उठ्छ क्या’, प्रचण्डले देउवासँग भने।

खुमलटारमा देउवाले अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन्। देउवा नेतृत्वको सरकार बनेपछि सत्तारुढ गठबन्धनलाई न्यूनतम साझा सहमति गरेर अगाडि बढाउने तयारी प्रचण्डले गरेका छन्। माओवादी केन्द्र र नेपाली कांग्रेसका दुई दुई गरेर अहिलेसम्म देउवा सरकारमा चारजना मात्र मन्त्री सहभागी भएका छन्।

प्रतिनिधिसभामा देउवालाई विश्वासको मत दिँदा जनता समाजवादी पार्टी (जसपा)लेसमेत साथ दिएपछि मन्त्रिपरिषद्मा उनीहरुलाई समेट्नेगरी प्रचण्ड र देउवाले छलफल अगाडि बढाएका हुन्।