नाबालकमै आमा–बाबु गुमाएका हरीकृष्ण र उनका भाई, बेसाहारा बने

जिल्लाको छायानाथ रारा नगरपालिका– २ तलितुम गाउँका रामकृष्ण तिरुवा भर्खर दुई वर्ष पूरा भए । उनी दुई वर्षको नाबालक अवस्थामै आमबाबुविहीन बनेका छन् ।

२०७५ असोज अन्तीममा जन्मेका रामकृष्ण आमाको गर्भभित्र ५ महिनाको हुँदा उनका बुवाको काठमाडाैंमा ज्याला मजदुरी गर्न गएको बेला लडेर मृत्यु भएको थियो।

उनी दुई वर्ष पुग्दानपुग्दै यही गएको असोजमा उनकी आमाले पनि सधैंका लागि छोडेर गइन् । घाटीको समस्याबाट पीडित उनीकी आमाको उपचारकै क्रममा जिल्ला अस्पताल मुगुमा निधन भएको थियो । आमा–बाबु गुमाएका दूधे रामकृष्ण र उनका ६ वर्षका दाजु हरीकृष्ण नाबालक अवस्थामा बेसाहारा बनेका छन् ।

‘सानो नाती गर्भमै थियो । ठूलो नाती २ वर्ष पुगेको थियो । छोराको मृत्यु भयो । जसोतसो बुहारीले ज्याला मदजुरी गरेर दुई नातीलाई पालनपोषण गराएकी थिइन् । उनी पनि सबैलाई छोडेर गइन् । । यिनीहरुको बिचल्ली भयो’, ६६ वर्षीय हजुरबुबा भक्त तिरुवाले आँसु झार्दै भने, ‘अब त यी टुहूरा नाबालकको कसले पालनपोषण गर्देला, हामी बुढाबुढी डाँडामाथिका घाम भैइसक्यौँ ।’

आर्थिक अवस्था कमजाेर भएका उनीहरुका हजुरबुबा–हजुरआमा दुवै काम गरेर बालबाच्चा पाल्ने उमेरका छैनन् । ६३ वर्षीया हजुरआमाले भनिन्, ‘हामीले आँगन छोडेर कही जान सक्दैनौँ । यिनीहरुको पालनपोषण गर्ने र पढाई–लेखाई गराइदिने कोही भगवान् बनेर आएपनि हुन्थ्यो नि !’