राजतन्त्रका पक्षमा भइरहेका सभा-जुलुशमा चासो नभएको पूर्वराजाको प्रतिक्रिया

हिजोआज देशव्यापी रूपमा भइरहेको राजसंस्था पुनर्स्थापनासहित हिन्दु राष्ट्रको मागमा आफ्नो कुनै चासो नरहेको पूर्वराजा ज्ञानेन्द्र शाहले प्रतिक्रिया दिएका छन्।

ज्ञानेन्द्रले सार्वजनिक गर्ने वक्तव्यमा भने विद्यमान व्यवस्था र राजनीतिप्रति गहिरो असन्तुष्टि आउने गरेको छ। अहिले राष्ट्रवादी संघ-संस्था तथा राप्रपाको नेतृत्वमा देशका विभिन्न ठाउँमा राजतन्त्र पक्षमा सभा-जुलुश भइरहेका छन्।

विशेषगरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा किचलो तीव्र हुँदै जाँदा ‘दक्षिणपन्थी’ भनिएका दल तथा संघ-संगठनहरूबाट राजतन्त्रको वकालत भइरहेको छ। यी सभा-जुलुशमा पूर्वराजपरिवारले कुनै प्रतिक्रिया जनाएको छैन। पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिना भन्छन्, ‘राजतन्त्रको पक्षमा अहिलेमात्र हैन, पहिले पनि आन्दोलन हुने गरेका थिए, यसमा हाम्रो केही चासो चिन्ता छैन, संलग्नता छैन।’

पूर्वराजाले आफ्नो पक्षमा आन्दोलन कहिल्यै पनि नचाहेको उनले दाबी गरे। २०६५ सालमा मुलुकमा गणतन्त्र घोषणा हुँदा त्यसलाई सहज स्वीकारेर शाह नागार्जुन दरबार गएका थिए। नयाँ संविधानमा राजसंस्थाले स्थान पाउला भन्ने झिनो आश भने उनका वक्तव्यमा देखिन्थ्यो।

नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेपछि पूर्वराजाको त्यो अपेक्षा पूरा हुन सकेन। तथापि, आफ्ना वक्तव्यमा शाहले असन्तुष्टि पोख्ने गरेका छन्। दसैंमा उनले जारी गरेको वक्तव्यमा दलहरूलाई ‘भष्मासुरी प्रवृत्ति’ भनिएको थियो।

‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो अशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्,’ उनले वक्तव्यमा भनेका थिए।

संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध आफूलाई भइरहेको उनको भनाइ थियो। उनका वक्तव्यमा हालको व्यवस्था, सरकार सञ्चालन र राजनीतिक दलको गतिविधिमा असन्तुष्टि देखिने गरेका छन्।