सोल्टी खोलामा काठको पुल बनाउन ८८ लाख सकियो !

स्थानीयले उपभोक्ता समितिमार्फत भएको कामप्रति चासो नदेखाउँदा मोरङको मिक्लाजुङ गाउँपालिका–५ को सोल्टी खोलाको पुल साडे तीन वर्ष यता अलपत्र अवस्थामा छ ।

सोल्टी खोलाको आरसीसी पुलले उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्छ । वर्षायाममा खोला तर्दा सोल्टी खोलाले धेरै मानिसलाई बगाइसकेको छ । हरेक निर्वाचनमा चुनावी मुद्दा बन्ने गरेको सोल्टी खोलाको पुल त्यस क्षेत्रका लागि विकासको मेरुदण्ड मानिन्छ । प्रदेश सरकार गठन भएको केही महिनापछि तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गर्नुभएको थियो । स्थानीय तीनवटा सामुदायिक वन र गाउँपालिकाको साझेदारीमा निर्माण गर्ने तय भएको पुलका लागि प्रारम्भिक चरणमा ७० लाख रुपियाँको लागत बजेट तयार भएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार गाउँपालिकाले ३० लाख र वडा नं ५ को वडा कार्यलयबाट पाँच लाख विनियोजन गर्ने कार्यक्रम तय भएपछि पुल निर्माण सुरु भएको हो ।

पुल निर्माणका लागि वरडाँडा सामुदायिक वनले १० लाख, गौमती सामुदायिक वनले १० लाख र धानखेती सामुदायिक वनले पाँच लाख रुपियाँ उपलब्ध गराएका थिए । यसरी गाउँपालिका, वडा कार्यलय र सामुदायिक वनबाट समेत गरेर पुल निर्माणका लागि ६० लाख रुपियाँ जम्माभएको र बाँकी अपुग १० लाख रुपियाँ गाउँपालिकाले थप्ने योजना थियो । तर शिलान्यासका क्रममा मन्त्री आङ्वोले ५० लाख रुपियाँ प्रदेश सरकारले दिने घोषणा गरेपछि स्थानीयवासीको मुहार उज्यालो भएको थियो । त्यसपछि स्थानीय पुल निर्माण हुनेमा ढुक्क भएका थिए ।

पुल निर्माण हुन थालेको साढे तीन वर्ष भयो । साढे तीन वर्षमा पुल पनि बनेको छैन, हिसाब पनि सार्वजनिक भएको छैन । शिलान्यासका बेला स्थानीय टेकबहादुर राई उपभोक्ता समितिको अध्यक्ष बन्नुभयो । उहाँले दुई महिना पनि जिम्मेवारी सम्हाल्न सक्नुभएन । त्यसपछि बुद्धिमान श्रेष्ठको अध्यक्षतामा अर्को उपभोक्ता समिति बन्यो । त्यो उपभोक्ता समितिले पुलको दुवैतर्फ पिल्लर बनाएपछि पैसा सकिएको भन्दै काम गर्न छोड्यो । उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले भन्नुभयो– ‘पैसा पुगेन कसरी काम सम्पन्न गर्नु ?’ खोलाको दुईतर्फ पिल्लर लगाउँदा मात्र ८८ लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले ५० लाख रुपियाँ दिने भनेकोमा २८ लाख रुपियाँ मात्र दिएको श्रेष्ठको भनाइ छ । श्रेष्ठले भन्नुभयो– ‘सचिवले जेजे अह्राउनुभयो त्यही काम मात्र मैले गरेँ । धेरै कुरा सचिवलाई थाहा छ ।’, तर गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य उपभोक्ता समितिको भनाइप्रति विमति जनाउनुहुन्छ । उहाँले भन्नुभयो, ‘इन्जिनियरले दुईतर्फको पिल्लरको दूरी ७० फिटभन्दा बढी भएको अवस्थामा बीचमा अर्को पिल्लर नराखी ढलाइ हाल्न नसकिने बताएपछि निर्माण कार्य रोकिएको हो ।’ सुरुमा ७० लाखमा बन्छ भनिएको पुल एकाएक लागत खर्च बढ्यो, सुरुको इस्टिमेटमा बीचमा पिल्लर थिएन, पछि बीचमा पिल्लर नराखी पुल ढलाइ गर्न नसकिने गरी पुलको संरचना बनेपछि पुलको लागत मूल्य पनि बढेको अध्यक्ष आचार्यको भनाइ छ । तर पछि कसरी यस्तो भयो भन्ने विषयमा आफू पनि अनभिज्ञ रहेको बताउनुहुन्छ ।

पुल बनिनसक्दै बजेट सकिएपछि स्थानीयले भीमप्रसाद गौतमको अध्यक्षतामा अर्को समिति बनाएका छन् । गौतमको समितिले अघिल्लो समितिको हिसाब माग गर्दा गाउँपालिका र प्रदेश सरकारले हिसाब दिएको छैन । गौतमले भन्नुभयो– मेरो समितिको कुरा सुनुवाइ भएको छैन ।

सोल्टी खोलामा पुल नबनेपछि यति बेला अस्थायी पुल निर्माण गरिएको छ । जङ्गलबाट अजङ्गका दुईवटा ४८ इन्च गोलाइका सालका रुख ढालेर दुईपट्टिका पिल्लरमा तेर्साइएको छ ।
७० फिट लम्बाइको पुलमा तोस्र्याइएका तिनै रुखमाथि नौ फिट लम्बाइ र डेढ इन्च बाक्ला सालका तखती लगाएर पुल निर्माण गरिएको छ । टेम्पो, मोटरसाइकलसम्म गुड्न सक्ने पुलको बीचमा अर्को झण्डै ५० इन्च गोलाइ भएको सालका रूख ठड्याएर पिल्लर बनाइएको छ । पुलको दुवैतर्फ काठकै बेरा लगाएर रङ्ग रोगनसमेत गरिएको छ । – गोरखापत्र अनलाइन बाट।