विधि र विज्ञान नमान्ने सरकार बालुवाटारबाट बार्दली पुग्यो : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले विधि र विज्ञान नमान्ने अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुगेको बताएका छन्।

आज प्रतिनिधि सभा संसद बैठकमा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरू भएको पनि बताए।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर निजी निवास बालकोट पुगेको दिन बार्दलीबाट भाषण गरेका थिए। थापाले त्यसैतर्फ संकेत गरेका छन्। उनले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताए।

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने तर आसेपासे पोस्ने। बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार,’ थापाले भने।

नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए। यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने उनले बताए। ‘यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनुपर्नेछ,’ उनले भने, ‘परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको र सांसदको पनि छ।’