पब्जी र फ्रीफायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् ।

‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला । तर पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’

यस्तै, नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि प्रहार हुने गरी ट्वीट गरेकोमा आपत्ति जनाएका छन् ।

बैठकमा बोल्दै सांसद साहले धर्मनिरपेक्ष देशमा सबै धर्मको सम्मान हुनुपर्ने बताए । बैठकमा उनले भने, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रि–ट्विट गरेर धर्ममाथि प्रहार गर्नुभएको थियो । यो धर्मनिरपेक्ष देशमा सबै धर्मलाई इज्जत गर्ने र हुने हाम्रो धारणा हो । उहाँजस्तो व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइसकेपछि हिन्दू धर्मावलम्बी आक्रोशित छन् । यस्तो टिकाटिप्पणी नआओस्, जोडदार माग गर्दछु ।’