रवीन्द्र मिश्र जन्मजात नै राजतन्त्र र हिन्दुराज्यका हिमायती थिए : सूर्य थापा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि नेपालको राजनीतिमा तरंग ल्याएको छ।

यस विषयमा अहिले राजनीतिकसहित विभिन्न क्षेत्रबाट प्रतिक्रिया व्यक्त गर्ने क्रम जारी छ। यसै क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पनि आफ्नो धारणा राखेका छन्। उनले रवीन्द्र मिश्र जन्मजातै राजतन्त्र र हिन्दुराज्यका हिमायती भएकाले अनौठो मान्नुनपर्ने बताएका छन्।

‘रवीन्द्र मिश्रको वैकल्पिक राजनीति गणतन्त्र र धर्मनिरपेक्षताको विपक्षमै उभिएछ। कैयौं साथीहरू यसमा चकित छन्, उनी जन्मजात नै राजतन्त्र र हिन्दुराज्यका हिमायती थिए,’ थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आन्दोलनमा शून्य योगदान थियो र विरोधमै थिए। सायद मनोज चौधरी पनि यिनै थिए, जसले परिवर्तनविरुद्ध छद्म नाममा लेख्थे!’

थापा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार थिए। तर पूर्वसञ्चारमन्त्रीसमेत रहेका एमालेकै अर्का नेता गोकुल बाँस्कोटाले मिश्रको धारणामा समर्थन जनाएका छन्।