कांग्रेसको प्रदर्शन सुरु, भोलि तनहुँमा प्रदर्शन गर्ने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

तनहुँको व्यास नगरपालिका एक पुलको उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो ।

कांग्रेसले उनको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगाना लगायतले सम्बोधन गरेका थिए । गिरफ्तारीको विरोधमा दमौली, बाग्लुड र पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ ।

नेपाली काँग्रस तनहुँले बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा दिउँसो २ बजे पक्राउ गरिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे रिहा भएका थिए ।