कुखुरा र खसीको मासुभन्दा बढी गाईको मासु खानु भारतीय भाजपा नेताको सुझाव

हिन्दुवादी भारतीय जनता पार्टीले सरकार चलाएका भारतका विभिन्न प्रदेशमा गाईको मासु (बिफ) प्रतिबन्धित छ। कतिपय ठाउँमा गाई काट्न पाइँदैन भने कहीँ मासु बेच्न नपाइने नियम बनाइएको छ।

उत्तर-पूर्वी भारतीय राज्य मेघालयका एक जना भाजपा नेता एवं नवनियुक्त पशुपालन मन्त्री शानबोर सुल्लाईले भने आफ्ना नागरिकलाई कुखुरा र खसीको मासुभन्दा बढी गाईको मासु खान भनेका छन्।

भारत एक प्रजातान्त्रिक मुलुक भएकाले हरेकले आफूलाई मन पर्ने खाना खान पाउनु पर्ने उनको भनाइ छ।

‘म मानिसहरूलाई चिकेन, मटन र माछाभन्दा बढी बिफ खान भन्छु। मानिसहरूलाई धेरै बिफ खान प्रोत्साहन गरे भाजपाले गाई काट्न र मासु खान प्रतिबन्ध लगाउँछ भन्ने धारणा हराएर जान्छ,’ उनले भनेका छन्।

मन्त्री सुल्लाईले छिमेकी राज्य असमबाट निर्वाध रूपमा पशुपंक्षीको आयातका लागि पनि आफूले कुरा गर्ने बताएका छन्।

असममा पनि भाजपा हिमन्ता विश्व शर्मा मुख्यमन्त्री छन्। असममा गत महिना हिन्दु, जैन, शिखको बसोबास भएको क्षेत्र, बिफ नखाने अरू मानिस बस्ने क्षेत्र, मन्दिरको पाँच किलोमिटर वरपर गाई काट्न र मासु बेच्न प्रतिबन्ध लगाउने विधेयक पारित भएको थियो।