कर्णाली डुंगा दुर्घटनामा १ जनाको मृत्यु, बेपत्ता तीनको खोजी कार्य जारी

१७ साउन, धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली नदीमा काठको डुंगामा सवार १० जना सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा जाने क्रममा डुंगा पल्टिएको हो । डुंगामा सवारमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।