पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

विराटनगर : पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मध्यरातमा विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड भएको छ। मलद्धारमा रहेको पिलोको शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्त सोमबार राति १०:१५ बजेतिर तोडफोडमा उत्रिएको अस्पतालले जनाएको छ।

हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको हो। अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार साँझ ७ बजेतिर सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेपछि अवस्था गम्भीर बनेका उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो।

स्वास्थ्य अवस्था थप खराब बनेर हुसेनको भेन्टिलेटेरमै राति १० बजेतिर मृत्यु भएको मेहताको भनाइ छ। उनका अनुसार शरीरका धेरै अंगले काम गर्न छाडिसकेका कारण भर्ना गर्दा नै बिरामीको अवस्था गम्भीर थियो। ‘मृगौला र मुटुले काम गर्न छाडिसकेको थियो। न्यून रक्तचाप र मधुमेहको पुरानै समस्या पनि रहेछ,’ मेहताले भने, ‘त्यहाँमाथि मलद्धारमा पिलो आएको रहेछ। त्यही घाउका कारण संक्रमण फैलिएर शरीरका अरु अंगले काम गर्न छाडेको जानकारी चिकित्सकले दिएका छन्।’

उनका अनुसार गम्भीर अवस्थामा भर्ना गरिएका बिरामीको शरीरका अरु अंगमा फैलँदै गएको संक्रमण रोक्न पनि घाउ (पिलो)को शल्यक्रिया गर्नैपर्ने थियो।‘शल्यक्रिया गरेर बचाउन धेरै प्रयास गरिएको भए पनि सम्भव भएन,’ अस्पतालका प्रशासकीय अधिकृत मेहताले भने, ‘मलद्धारको घाउका कारण बढ्दो संक्रमणले ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु नै भयो।’ चिकित्सकलाई उद्रित गर्दै उनले दिएको जानकारी अनुसार घाउको शल्यक्रिया गरेर संक्रमण रोक्नेबाहेक उपचारको अरु कुनै विधि नै थिएन। तर शल्यक्रिया गरिएपछि अवस्था झन् खराब भएर बिरामीको मृत्यु भएसँगै अस्पतालमा हुलदंगा र तोडफोड भएको छ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै २५/३० जनाको संख्यामा भेला भएका मृतकका आफन्त र परिवारका सदस्यले तोडफोड गर्दा अस्पतालको काउण्टरको दुईवटा झ्यालमा क्षति पुगेको मेहताको भनाइ छ। झ्यालका शिशा फुटेका छन्। उनका अनुसार आक्रोसित भीड कर्मचारी र सुरक्षागार्डलाई समेत कुटपिट गर्दै तोडफोडमा उत्रिएपछि अस्पतालको अवस्था निक्कै बेर तनावग्रस्त बन्यो।

तोडफोड र कुटपिटमा संलग्नमध्ये सात जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेर रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिए।

कोही पनि आफन्त बुझ्नका लागि नआएका कारण मृतकको शव भने अस्पतालमै रहेको उनले बताए। लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने र शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग राखेका छन्। समाचार श्रोतः अन्नपुर्ण पोष्ट