म आज जे छु सुदर्शन थापाकै कारणले छु : पूजा शर्मा

निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको सम्बन्धलाई फिल्म क्षेत्रमा उदाहरणीय मानिन्छ । उनीहरुबीच व्यवसायिक सम्बन्ध मात्र बलियो छैन, व्यक्तिगत रुपमा पनि उतिक्कै नजिक छन् । फिल्म ‘प्रेमगीत’ पछि उनीहरुको एकअर्कासँग लामो समय नाम जोडियो । बेला-बखतमा खटपटको खबर पनि नआएको होइन । तर, आजका दिनसम्म उनीहरु मिलेरै अगाडि बढिरहेका छन् ।

फिल्म ‘मधुमास’ पछि सुदर्शनले पूजा विना फिल्म नै निर्देशन गरेका छैनन् । उनीहरुबीच सहकार्य भएको प्रायः फिल्म सफल छन् । सुदर्शन निर्देशित फिल्म ‘प्रेमगीत’ बाट पूजाको स्टारडम चुलिएको थियो । त्यसअघि उनी लाइमलाइटममा आउन सकेकी थिइन् । यसकारण पनि उनलाई फिल्म क्षेत्रमा स्थापित गर्न सुदर्शनको ठूलो हात छ भन्ने गरिन्छ । यो कुरा पूजा स्वयं पनि स्वीकार्छिन् ।

आइतवार कमेडी शो ‘मुन्द्रको कमेडी क्लब’ मा अतिथीको रुपमा उपस्थिति हुने क्रममा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै उनले आफूलाई बनाउन सुदर्शन थापाकै हात रहेको बताइन् । उनले भनिन्, ‘मलाई सुदर्शन थापाले बनाएको हो भन्दा लाज लाग्दैन । उहाँले धेरै कलाकारलाई बनाउनु भएको छ । म सुदर्शन थापाको टिमको सदस्य हुँ । म आज जे छु सुदर्शन थापाकै कारणले छु ।’

गत हप्ता सुदर्शनले सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरे । तर, उनले पूजालाई निम्तोसम्म गरेनन् । यसपछि उनीहरुबीच सम्बन्ध विग्रिएको र अब फिल्ममा सहकार्य नहुने चर्चा फिल्मवृतमा चलेको छ । तर, पूजाले सुदर्शन थापाले बिहे गर्दैमा टिमअप नछुट्ने बताएकी छन् । उनले आफूले कहिल्यै सुदर्शन थापालाई हरेक फिल्ममा ‘म नै हुनुपर्छ’ भनेर दबाब दिने नगरेको पनि बताइन् ।

उनले अगाडि भनिन्, ‘म पनि भोली बिहे गरेर जान्छु होला । त्यो बेलामा पनि सुदर्शन जीलाई फिल्ममा मलाई नै राख्नुपर्छ भनेर भन्दिनँ । मैले सुदर्शन जीलाई सधैं भन्ने गरेको छु कि स्टोरीमा म सुहाउँदिनँ भने अर्को राखौं । मैले दबाब दिएर यो फिल्ममा म नै हुनुपर्छ भनेर भन्दिनँ । ‘म यस्तो गीत गाउँछु’ मा मैले अरु हिरोइनलाई अफर गरेको थिएँ । मेरो फिल्ममा मै हुनुपर्छ भन्ने छैन ।’