‘ए मेरो हजुर ३’ ले राख्यो यूट्युबमा नयाँ रेकर्ड

डेढ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले घरेलु बजारमा ९ करोड ग्रस कलेक्सन गरेको थियो । दुई हप्तासम्म फिल्म हरेक सिनेमा हलमा हाउसफुलका साथ प्रदर्शन भएको थियो । समीक्षकले कमजोर भनेको यो फिल्मलाई दर्शकहरुले निकै मन पराएका थिए । यही कारण फिल्म सुपरहिट बन्यो ।

सिनेमा हलमा रिलिजको डेढ वर्षपछि ‘ए मेरो हजुर ३’ गएको एक हप्ता अगाडि यूट्युबमा सार्वजनिक भएको छ । यूट्युब रिलिजको १२ घण्टामा दश लाख पटक हेरिएको यो फिल्म एक हप्तामा सात मिलियन (७० लाख) पटक हेरिएको छ । सम्भवतः यसअघि एक हप्तामा कुनै नेपाली फिल्म यति धेरै पटक हेरिएको छैन । यस मानेमा फिल्मले यूट्युबमा रेकर्ड नै राखेको छ ।

अहिले यो फिल्म ७० लाख भ्यूजका साथ नेपालको यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । एक हप्तादेखि ट्रेन्डिङको पहिलो स्थानबाट फिल्म डगमगाएको छैन । हल र यूट्युब दुवैमा हिट सावित भएको फिल्मले एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा वाचन गरेको छ । फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । अहिले यो फिल्मको चौंथो पार्टको धमाधम छायांकन भइरहेको छ ।