१८ वर्षको उमेरदेखि साङ्लोले बाँधिएका इमानसिंहको उद्धार

लमजुङ — तीन दशकदेखि फलामे साङ्लोमा बाँधिएका दोर्दी गाउँपालिका–९ माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको बिहीबार उद्धार गरिएको छ ।

उनलाई बेंसीसहरस्थित मानवसेवा आश्रममा ल्याइएको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । उद्धारका क्रममा उनको शरीरमा लुगासमेत थिएन । १८ वर्षको उमेरदेखि नै उनलाई परिवारले पिँढीको खोपीमा साङ्लोले दायाँ हातमा बाँधेर राखेका थिए ।

संयोजक अधिकारीका अनुसार प्रहरीसहितको उद्धार टोली माझगाउँमै पुगेको थियो । दोर्दी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरीसँगको समन्वयमा उद्धार गरेको अधिकारीले बताइन् । ‘हामीले सरसफाइ गरेर आश्रममा राखेका छौं । आवश्यक औषधि उपचार, लालनपालन गर्नेछौं,’ उनले भनिन्, ‘पारिवारिक माया दिएर निको भएमा पारिवारिक पुनर्मिलन गराइनेछ ।’

औषधि उपचारमा गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । वडाध्यक्ष खेमबहादुर गुरुङका अनुसार पहिले पनि उद्धारका लागि प्रहरी, प्रशासनमा खबर गरिएको थियो । ‘मानवसेवा आश्रमबाट बल्ल उद्धार भयो,’ उनले भने ।

इमानसिंहलाई आमाबुबाले हेरचाह गर्दै आएकोमा १० वर्षअघि दुवैको मृत्यु भएपछि जेठो दाजु बेनीरामले हेरचाह गर्दै आएका थिए । १८ वर्षको उमेरमै परिवारलाई हैरान बनाएपछि साङ्लोमा बाँधेर राख्नुपर्ने बाध्यता आइलागेको उनले बताए । ‘पहिले राम्रै थियो । १८ वर्षको उमेरमा एकाएक यस्तो भयो, त्यसपछि बाँध्यौं,’ उनले भने, ‘चुँडालेर भाग्ने समस्या भएपछि फलामकै साङ्लो प्रयोग गर्नुपर्‍यो ।’

उनका अनुसार १८ वर्षको उमेरमा इमानसिंह भारतीय सेनामा भर्ती हुन गएका थिए । सफल नभएपछि घर फर्किए । ‘फर्किएर आएपछि असफल भइयो भनेर गुनासो गर्दै थियो । त्यसपछि जथाभावी बोल्ने, अर्कैअर्कै व्यवहार गर्न थाल्यो । पछि त ढुंगामुढा हान्न थालेपछि हामीले सम्हाल्नै नसक्ने अवस्था आयो,’ बेनीरामले भने ।

चार दाजुभाइमध्ये इमानसिंह कान्छा हुन् । अर्का दाजु यमप्रसादका अनुसार मानसिक सन्तुलन गुमेपछि एक महिनामा ठीक भएका थिए । फेरि समस्या बल्झियो । ‘धामीझाँक्री लगाइयो, डाक्टरलाई पनि देखाइयो,’ उनले भने, ‘सम्भव भएको ठाउँसम्म पुर्‍याइयो तर उपाय लागेन ।’