वामदेवकाे सचिवालयले भन्याे- ‘सूर्य थापा भन्ने केटोको काम दलाली र चाकडी’

काठमाडौं – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ६ वर्षअघिकाे भाइरल भएकाे नेकपाका उपाध्यक्ष वामदेव गौतमकाे फाेटाे पाेष्ट गर्नुभएपछि सञ्जालमा दोहोरी नै चलेको छ ।

उपाध्यक्ष वामदेव गौतमका प्रेस सल्लाहकार विष्णुमणी सुवेदीले सूर्य थापालाई दलालीकाे आरोप लगाउनुभएको छ । सुवेदीले फेसबुकमा लेख्नुभएकाे छ- ‘सूर्य थापा भन्ने केटो, जसको काम/पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क. वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ ।’

सुवेदीले प्रधानमन्त्रीको प्रेस सल्लाहकार थापाकाे नियतै खराब भएकाे टिप्पणी गर्नुभएकाे छ । ‘उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ,’ सुवेदीले लेख्नुभएकाे छ, ‘सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो । सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ?पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ’

शुक्रबारको सचिवालय बैठकमा वामदेवले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट हटाउन माग गर्नुभएकाे थियाे । उक्त मागपछि थापाले गौतमले सडकको ‘डिभाइडर’ नाघ्दै गर्नुभएको फाेटाे फेसबुकमा पाेष्ट गर्नुहुँदै ‘को कस्तो ? तस्बिर काफी छ’ भनेर लेख्नुभएकाे थिया ।