नयाँ डिजाइनमा केटीएम ड्यूक १२५ आउँदै, कति पर्ला नेपालमा मूल्य

काठमाडौं – केटीएमले भारतमा आक्रमक बजार विस्तारको योजना बनाएको छ ।

कम्पनीले आफ्नो बजार विस्तारको रणनीति अनुसार केहि समयअघि २५० एड्भेञ्चर बजारमा उतारेको थियो । अब भने ड्यूक १२५ को डिजाइनमा परिमार्जन गरेर ल्याउन लागेको हो ।

भारतमा नयाँ ड्यूक १२५ को बुकिङ सुरु भइसकेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् । अहिले ५ हजार भारतीय रुपैयाँ टोकनको रुपमा लिएर डिलरहरुले नयाँ ड्यूक १२५ को बुकिङ सुरु गरेका हुन् । यसलाई डिसेम्बर अन्तिम वा जनवरी पहिलो हप्ताबाट बिक्री सुरु गर्ने तयारी भइरहेको अनुमान गर्न सकिन्छ ।

ट्रेलिस फ्रेममा थपिएको बोल्ट अन सबफ्रेम, नयाँ हेलोजिन हेडल्याम्पको साथमा दिइएको एलइडी डिआरएल, ठूलो फ्यूल ट्याङ्क २०२१ मोडलको मुख्य विशेषता हो । यसअघि ९.५ लिटर इन्धन अट्ने फ्यूल ट्याङ्क दिइएको ड्यूक १२५ को नयाँ मोडलमा १३.५ लिटर इन्धन अट्ने बनाइएको छ ।

यसमा ड्यूक २०० मा दिइएको एग्जस्ट प्रयोग गरिएको छ भने, २५० एड्भेञ्चरमा दिइएको एलसीडी इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको छ । कम्पनीले यसको इन्जिनमा भने कुनै परिमार्जन गरेको छैन ।

ड्यूक १२५ मा १२४ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १४.५ पीएस पावर र १२ एनएम टर्क प्रदान गर्छ । भारतमा यसको मूल्य पुरानोको तुलनामा ७ हजार भारतीय रुपैयाँ बढी पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा पनि ड्यूक १२५ को बिक्री वितरण हुँदै आएको छ । गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनीले बिक्री वितरण गर्ने ड्यूक १२५ को मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री हुँदै आएको छ । यस्तोमा नयाँ मोडल नेपाल आउने हो भने २५ देखि ३० हजार रुपैयाँसम्म महंगो हुने अनुमान गर्न सकिन्छ ।