चित्रबहादुर केसीको स्वास्थ्यमा सुधार

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्यमा सुधार आएको छ।

कोरोना भाइरसको संक्रमणका केसी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएको केसीलाई ज्वरो,निमोनिया र डाइरियाको समस्या देखिएको थियो। अहिले भने उनको अवस्था सुधारोन्मुख रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले बताइन्।

‘उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्यमा सुधार आएको भन्नुभएको छ। जटिलता थियो, अहिले पनि पुरै मुक्त भन्न मिल्दैन तर सुधारोन्मुख छ भन्नुभएको छ,’ उनले भनिन्,’ज्वरोले गालेको, डाइरिया भएको र निमोनिया भएकाले कमजोरी छ तर सुधार हुँदै गएको छ। उहाँ होसमै हुनुहुन्छ। अक्सिजनको मात्रा राम्रो रहेको चिकित्सकले बताउनुभएको छ।’

केसीलाई अहिले अक्सिजनसमेत दिन परेको छैन। केसीसँग आफ्नो फोनमा समेत कुरा भएको भन्दै उनले हिजो अलि अलि घाँटी दुखेको भए पनि आज त्यस्तो नरहेको पौडेलले बताइन्।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।