हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकाको म्युजियममा फेला

पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।

लिच्छविकालीन सभ्यताको उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना भएको चित्ताकर्षकमध्येको चतुर्मुखी शिवलिंग मूर्ति कसरी चोरियो भन्ने विस्तृत विवरण आएको छैन ।

सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति खरिद गरेर अमेरिका लगिएको जनाइएको छ । अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) ले उक्त मूर्ति अमेरिकाको सिकागो म्युजियम पुर्‍याएको थियो ।

‘चतुर्मुखी शिवलिंगको मूर्ति फेला परेको विषयमा संकलनकर्ताको इच्छापत्रअनुसार मूर्ति नेपाललाई फर्काउने भनिएपछि मात्र जानकारी बाहिर आएको हो,’ वासिङ्टनस्थित नेपाली राजदूत अर्जुन कार्कीले भने, ‘पुरातत्त्व विभाग र परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं ।’ उनले यो मूर्तिको नेपालको अवस्थिति (ठाउँ) बारे जानकारी पाउन नसकेको बताए । तर लिच्छविकालीन मूर्ति र सम्पदाका जानकारले यो मूर्ति पशुपति परिसरबाट हराएको पुष्टि गरेका छन् । अन्वेषक लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत उल्लेख भएको यो मूर्ति पशुपति पञ्चदेवलको बाहिरपट्टि रहेको र सन् १९८४ जुलाईमा हराएको विवरण (पृष्ठ ११७) उल्लेख छ । पशुपति क्षेत्रकै सांस्कृतिक सम्पदामा विद्यावारिधि गरेका अन्वेषक गोविन्द टण्डनका अनुसार २०४४ सालमा पशुपति क्षेत्र विकास कोष गठन हुनुअघि यस क्षेत्रका धेरै पुरातात्त्विक मूर्तिहरू हराएका थिए । ‘यो चतुर्मुखी शिवलिंग पनि एक प्रकारले संरक्षणहीन र फ्याँकिएकै अवस्थामा पशुपति पञ्चदेवलको बाहिर दक्षिण–पूर्वी कुनामा थियो,’ टण्डनले भने, ‘अहिले मलामीका लागि टहरो हालिएको आश्रयस्थल छेउमा जलहरी (आसन) सहितको चतुर्मुखी शिवलिंग थियो ।

टण्डनको २०४२ सालमा प्रकाशित ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ पुस्तकमा लेखिएको छ, ‘पशुपति क्षेत्रमा भएका चतुर्मुखी लिंगहरूमा प्राचीनताको दृष्टिकोणले भूतेश्वर तथा पञ्चदेवल बाहिर दक्षिण–पूर्व दिशामा रहेका शिवलिंग उल्लेखनीय थिए । तर अपशोच, ती दुवै मूर्तिहरू हराए । चारै मुहार सौम्य मुद्रा, सौन्दर्यपूर्ण अनुहार, सुहाउँदो गरगहना र केशविन्यासको कमण्डलु, चारैवटा मुहारको निधारमा त्रिनेत्र हुनु यसको अर्को विशेषता थियो । ठाडो नेत्रको सट्टा यसमा तेर्सो नेत्रहरू निधारमा उत्कर्षण थिए । यी मुखलिंगहरू हाम्रोसामु अहिले छैनन् ।’

मूर्ति र पुरातात्त्विक सम्पदाबारे अभिलेख राख्ने पुरातत्त्व विभाग पशुपति परिसरको यो सम्पदा अमेरिकामा भेटिएकोबारे अनभिज्ञ छ । परराष्ट्र मन्त्रालयका अधिकारीले पनि अमेरिकामा भेटिएको भनिएको यो सम्पदाको अवस्थिति र आधिकारिकताबारे तत्काल केही भन्न नसकिने बताए । सिकागो म्युजियममा भने सिंगो चतुर्मुखी शिवलिंगको सग्लो मूर्तिलाई आधाजति काटेर राखिएको अवस्थामा देख्न सकिन्छ । चतुर्मुखी शिवलिंगको पहिलेको उचाइ २८ इन्चको थियो भने चोरी गरेर लैजाँदा गिँडेर १६ इन्चको बनाइएको छ ।

अमेरिकाको सिकागो म्युजियममा चतुर्मुखी शिवलिंग भेटिएको जानकारी पाएपछि सम्पदाविद् रवीन्द्र पुरीले वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ भित्र रहेको यो सम्पदाबारे खोजबिन सुरु गरेका थिए । ‘लिच्छविकालीन सभ्यता–संस्कृति भएकै स्थानमा यो सम्पदा हुनुपर्छ भनेर पशुपति परिसरमै यसको खोजबिन सुरु गरेको थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘नभन्दै पशुपति क्षेत्रका अर्का विज्ञ टण्डनको परामर्श र अध्ययनले यो सम्पदा पञ्चदेवल नजिकैको रहेको पुष्टि भएको छ ।’ वाङ्देलको कृतिकै आधारमा नेपालबाट चोरिएका ५० वटा प्रतिनिधिमूलक मूर्तिहरूको ‘रिप्लिका’ बनाएर ‘म्युजियम अफ स्टोलन आर्ट’ स्थापना गर्ने अभियानमा लागिपरेका पुरीले चतुर्मुखी शिवलिंगसमेत यसअघि नै आफ्नो सूचीमा रहेको जानकारी दिए । लिच्छविकालीन समय, संस्कृति र सभ्यता झल्काउने यस्ता सम्पदाको ‘रिप्लिका’ अनिवार्य रहेको भन्दै मूर्ति निर्माणमा लागिरहेका बेला यो पुरातात्त्विक मूर्ति अमेरिकामा फेला परेको सुन्दा खुसी लागेको उनले बताए । पनौतीमा निर्माणाधीन आफ्नो संग्रहालयमा राख्न ४० वटा मूर्तिहरूको ‘रिप्लिका’ बनाइसकेको उनले जानकारी दिए ।

अन्वेषक टण्डनका अनुसार नेपालमा पुरातत्त्व विभाग, गुठी संस्थान, अभिलेखालयसहितका कुनै पनि निकायमा हामीकहाँ रहेका पुरातात्त्विक सामग्री/सम्पदाको आधिकारिक सूची उपलब्ध छैन । ‘कुनै एउटा बिहानीमा चोरिन्छन् अथवा हराउँछन्,’ उनले भने, ‘त्यस्तो सूची भइदिएको भए सिकागो म्युजियममा चतुर्मुखी शिवलिंग भेटिनासाथै यसको अवस्थिति वा उत्पत्तिबारे वासिङ्टनको दूतावासलाई पनि थाहा हुन सक्थ्यो । अथवा हाम्रै पुरातत्त्व र परराष्ट्रलाई पनि थाहा हुन्थ्यो होला ।’

सबै समय र कालखण्डको यस्तो अभिलेख नभए पनि पुरातात्त्विक महत्त्वका सामग्री–सम्पदाको सूची हुनैपर्नेमा टण्डन जोड दिन्छन् । ‘समस्या के छ भने हाम्रा लिच्छविकालीन मूर्तिहरू कहाँ छन्, कति छन् भन्ने सूची कहीं कतै छैन । पशुपतिनाथ परिसरमै रहेका लिच्छविकालीन मूर्तिको सूचीपत्र पनि कतै छैन । गुठी संस्थान, राष्ट्रिय अभिलेखालय, चारखाल अड्डा कहीं कतै अद्यावधिक रेकर्ड छैन,’ उनले भने, ‘आफ्नो अध्ययन–अन्वेषणअनुसार मैले चतुर्मुखी शिवलिंगको इतिहासको अवस्थिति भन्न सकें, पशुपति क्षेत्रैबाट हराएका दर्जनौं सम्पदाबारे खोइ कहाँ छ रेकर्ड ?’

को हुन् जेम्स एन्ड मार्लिन ?
अति महत्त्वका विश्वव्यापी कला सम्पदाको खरिदबिक्री एवं लगानीमा अन्तर्राष्ट्रिय नाम बनाएका सिकागोका जेम्स डब्लू एल्सडर्फको ७६ वर्षको उमेरमा सन् १९९० अप्रिलमा निधन भएको थियो । निधनपछि उनकै श्रीमती मार्लिन ब्रुडर एल्सडर्फले यस्ता सम्पदा खरिद–बिक्री एवं प्रवर्द्धन गर्दै आएकी थिइन् । गत वर्ष २०१९ अगस्ट १ मा मार्लिनको ९४ वर्षको उमेरमा निधन भयो । उनको मृत्युपछि भेटिएको इच्छापत्रमा ‘मेरो मृत्युपछि चतुर्मुखी शिवलिंगको मूर्ति नेपाललाई बुझाइदिनू’ भन्ने लेखिएको थियो । ‘सिकागो कला समाजकी रानी’ भनेर चिनिने मार्लिनको इच्छापत्रअनुसार म्युजियमले वासिङ्टनस्थित नेपाली दूतावासलाई यो सम्पदाबारे जानकारी गराएको थियो । यो पुरातात्त्विक मूर्तिको ‘उत्पत्तिको स्थान’ (ओरिजिन) थाहा भइसकेकाले मूर्ति फर्काउन सजिलो हुने देखिएको छ । कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले खबर लेखेका छन् ।