नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६६ वर्ष पूरा भएर ६७ वर्षमा लाग्दैछन् ।
वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड बिहीवारबाट ६७औं वसन्तमा प्रवेश गर्न लागेका हुन् । पूर्व माओवादी पृष्ठभूमिका नेकपाका कार्यकर्ताले समाजिक सञ्जालमा प्रचण्डलाई बुधवारदेखि नै जन्म दिनको शुभकामना दिइरहेका छन् ।
६६ औं वसन्त पार गरिसकेका प्रचण्ड अझै शारीरिक रुपमा तन्दुरुस्त र राजनैतिक रुपमा सक्रिय हुनु हुन्छ। दिनभर राजनीतिक कार्यक्रम र भेटघाटमा व्यस्त रहने प्रचण्ड बिहानीको समयमा नियमित शारीरिक व्यायाम गर्ने गर्छन् । प्रचण्डका सहयोगीहरूका अनुसार उनले बिहान एक घण्टा ब्याडमिन्टनमा समय बिताउने गरेका छन् ।
स्वास्थ्यमा सचेत प्रचण्ड काठमाडौं बाहिर गएको समयमा बिहान बेलुका हिँड्ने गर्छन् । गृहजिल्ला चितवन जाँदा भने उनी नारायणी नदी किनारमा पुग्ने गरेका छन् । उनले केही महिनाअघि विवाहको ५०औं वर्षगाँठ पनि मनाएका थिए । प्रचण्ड र पत्नी सीता दाहालले सो अवसरमा पुनः विवाह समेत गरेका थिए ।
ढिकुरपोखरी २ कास्कीमा जन्मिएका प्रचण्डले चितवनको गीतानगरमा पढेका थिए । उनले केही समय गोरखाको स्कूलमा अध्यापन समेत गरेका थिए । लामो समय अर्धभूमिगत राजनीति गरेका प्रचण्डले २०५२ सालदेखि २०६३ सालसम्म भूमिगत माओवादी आन्दोलनको नेतृत्व गरेका थिए ।
२०६५ र २०७३ सालमा गरी प्रचण्ड दुईपटक देशको प्रधानमन्त्री समेत बनिसकेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्