धेरै अपमानित भएर ओलीको बुहार्तन सहेँ, अब सहन सकिदैन : प्रचण्डले

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कडा खालको बुहार्तन आफूले सहेको बताएका छन्।

बागमती प्रदेशका आफू निकट जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवलगायतसँगको छलफलमा प्रचण्डले अहिलेसम्म जे भयो भयो, अब अपमान सहन नसिकने बताएका थिए। बिहिबार काठमाडौंमा भएको छलफलमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकटका बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागि थिए।

‘सकिएन, सहनै सकिएन। यो बुहार्तन, मैंले कडा खालको बुहार्तन सहेँ,’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने, ‘बुहार्तनै भयो, कति सहनू साह्रै अपमानित भइयो। सहन धेरै कठिन भयो।’

प्रधानमन्त्रीको प्रतिवेदनमा आफूलाई धोकेबाज भनिएको प्रसंग उठाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले आफू धोकेवाज भएरै उहाँ पटक-पटक प्रधानमन्त्री बन्नुभएको हो नि, बरू ‘धोकेवाज जिन्दावाद’ भन्नुहोस् भनेर सुझाव दिएका ती नेताले बताए।

‘ओलीले आफ्नो प्रतिवेदनमा धोकेबाज मात्रै भनेका छन्। मैले त धोकेबाज जिन्दावाद भन्नुहोस् भनेको छु। मैले कांग्रेसलाई धोका दिएकैले तपाईँ दुई पटक प्रधानमन्त्री बन्नुभयो’, प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘म धोकेबाज नभएको भए तपाई प्रधानमन्त्री बन्नुहुन्थेन भनेर प्रधानमन्त्रीलाई भन्दिएको छु। यसअघि लिखित नबुझाउँदा जिब्रो पड्काएको भरमा धेरै कुरा मिल्थ्यो। अब त्यो सम्भावना छैन।’

भेलामा माधव नेपालले भोलि धोका दिनसक्ने भन्दै सचेत रहन प्रधानमन्त्रीले भनेको, तर आफूले आजै धोका पाएपछि भोलिको कुरा मुख्य नरहेको जवाफ फर्काएकोसमेत बताएका थिए। केन्द्रीय कमिटी सर्वोच्च अदालत रहेकाले त्यहीँ जानुपर्ने उनले बताएका थिए। त्यस्तै छलफलमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको दम्ब, अहंकार र घमण्डलाई चकनाचुर बनाउनैपर्ने बताएका थिए।

‘के छोड्ने, नछोड्ने, हटाउने र नहटाउने भन्ने कुरा उहाँमा भर पर्छ। कमिटिमा आएर कमिटिको मन जित्नुभयो भने किन हटाउनुपर्‍यो। तर अब बैठकमा नआउने हो भने निर्णय गर्न बाध्य भइन्छ,’ नेपालको भनाई उदृत गर्दै अर्का एक नेताले भने,‘कमिटिका बैठक फेस गर्ने हो भने धेरै कुरा मिलिहाल्छ नि। केपी ओलीको दाउपेच अब समाप्त भएको छ। अब दुई अध्यक्ष मिलेपछि पार्टी निर्णय भन्ने अध्याय समाप्त भयो।’

छलफलमा दुई नेताले अहिलेको अवस्थाको बारेमा जानकारी गराएको नेकपा काठमाडौंका सचिव हिमाल शर्माले जानकारी दिए। ‘एक\एक घण्टा कुराकानी भयो। जिज्ञासाको उत्तर दिनुभयो। अपमान सहेर पनि हामीले विभाजन रोकेको हो। अहिलेसम्म अपमान सहेर भए पनि एकता जोगाइरहेको छु भनेर प्रचण्डले भन्नुभयो,’ शर्माले भने, ‘माधव नेपालले प्रचण्डको लिखित प्रस्तावमा हाम्रो स्वामित्व छ। यो फिर्ता हुँदैन। त्यो आरोप पत्र होइन त्यो प्रतिवेदन हो भनेर भन्नुभएको छ।’

छलफलमा प्रचण्डले पार्टी एकतापछि धेरै अपमान र तिरस्कार सहेको बताएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।

‘एकता गर्दा पहिलो र दोस्रो भन्ने केही थिएन। आलोपालो भन्ने नै थियो, त्यसपछाडि एक नम्बर दुई नम्बर भन्ने बनाए। त्यसपछि संयुक्त बनाए, अनि कार्यकारी भन्ने पनि बनाए’, प्रचण्डको भनाई उदृत गर्दै खडकाले भनिन्, ‘जे-जे बनाए पनि पार्टी एकताका लागि भनेर मैले यो बिचमा धेरै अपमान तिरस्कार सहेको हो। अहिलेको यो लडाइ पनि पार्टी फुटबाटै जोगाएर गर्छौ।’

वरिष्ठ नेता नेपालले अहिलेको प्रयास पार्टीलाई सामुहिक नेतृत्वमा फर्काउनका लागि भएको बताएको खड्काले जानकारी दिइन्।

‘अहिले पार्टीमा दुई वटा डकुमेन्ट पेश भएका छन्। त्यसले हामीलाई गाइड गर्छन्। यी दुई डकुमेन्टलाई अगाडि राखेर समाधान खोज्ने हो,’ नेपालको भनाई उदृत गर्दै उनले भनिन्, ‘दुई अध्यक्षको सहमति भन्ने हुँदैन। यो असफल भयो। अब सामुहिक प्रणालीमा फर्काउन खोजेको हो। त्यो फर्काउने क्रममा जे पनि हुन सक्छ।’