पार्टी भित्र चल्ने बहस र छलफलहरु समाजवाद यात्राका लागि : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या र चुनौती सामना गर्ने ताकत कम्युनिस्ट पार्टीभित्रै भएको बताएका छन्।

विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन्।

‘यो बेला पक्कै पनि चुनौतीहरु आउँछन्। ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिस्ट पार्टी भित्रै छ। कम्युनिस्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं,’ उनको भनाइ थियो। समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिस्ट पार्टीकै काँधमा भएको समेत उनको भनाइ थियो।

‘हाम्रो पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यही समाजवाद तिरको यात्राका लागि हुन्। समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन्,’ प्रचण्डले भने।

अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरु अगाडि बढेको बताएका थिए। पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत उनले गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सदस्य रहिसकेकी दोस्रो संविधानसभा सदस्य कौसर शाहलगातका नेताहरू नेकपा प्रवेश गरेका थिए। कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए।