फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको थियो

गएको मंसिर ८ गते पोखरामा भएको प्याराग्लाइडिङ दुघर्टना पाइलटको लापरबाहीका कारण भएको नेपाल हवाई खेलकूद संस्था एनएएले जनाएको छ ।

करिब दुई दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले दुघर्टनालगत्तै एनएएलाई दुर्घटनाका बारेमा जवाफ मागेको थियो।

एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पीडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।

मङ्सिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनामा परि उडानमा अनुभवी प्यारा पाइलट राजु गैरेको ज्यान गएको थियो उक्त दुर्घटना लगत्तै घटनाको छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरिएको थियो। प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो।

समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ । हवाई खेलकूद संस्था २०५९ मा स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उड्डयन प्राधिकरणले एनएएलाई अनुगमन, लाइसेन्स वितरण र नवीकरण गर्ने अधिकार प्रदान गरेको हो।

पोखरामा प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन्। पोखरामा ६१ प्याराग्लाइडिङ कम्पनी छन् भने एक अर्ब रुपैयाँ बढीको लगानी रहेको छ।