उखु किसानका पिडा : पैसा उठाउन ऋण काढेर काठमाडौंमा

सर्लाही, खरर्वाका गगनदेव रायको परिवारको आयआर्जनको स्रोत भनेकै उखु खेती हो । उनले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले दुई छोरासहित १० जनाको परिवारको गर्जो टार्दै आएका थिए ।

रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वार्षिक ६०० मेट्रिक टनसम्म उखु पुर्‍याएका छन् । तर, पछिल्ला वर्षहरुमा उखु मिलले बदमासी गर्न थाले । उखु लगेपछि पैसा पाउन गाह्रो हुन थाल्यो । उनले पाउनुपर्ने रकम झण्डै ४ लाख छ । मिलबाट दिएपछि तिरौंला भन्दै ऋण लिएर परिवारको गर्जो टार्दै गए ।

घर खर्च चलाउन साहु महाजनबाट ३६ प्रतिशत ब्याजमा लिएको ऋण सावाँ ब्याज गर्दा ७ लाख पुग्यो । ऋण तिर्न उखु लगाउने खेत नै बेच्नुपर्ने अवस्था आएपछि उनी सिंहदरबारलाई आफ्नो पीडा सुनाउन अरु उखु किसानसँगै काठमाडौं आउन कस्सिए, सदरमुकाम मलंगवा पुगे ।

‘गोजीमा ३०० रुपैयाँ मात्र थियो । मलंगवा आएर १० हजार रुपैयाँ ऋण लिएर काठमाडौंका लागि बस चढे’ आइतबार माइतीघर मण्डलामा भेटिएका रायले दुःखेसो पोखे, ‘चिनी मिलको बदमासीमा सरकारले आँखा चिम्लिएपछि म नराम्रोसँग ऋणमा डुबे ।’ उनले अघि भनेका छन्, ‘अब पैसा लिएर मात्र जान्छु, नभए यहीँ आत्महत्या गरिदिन्छु’

७४ वर्षीय राजिन्द्र मण्डलको अवस्था पनि उस्तै छ । मण्डलले चिनी मिलबाट डेढ लाख रुपैयाँ पाउन बाँकी छ । ‘ऋण गरेर काठमाडौं आएको तीनपटक भयो, हरेकपटक उधारो आश्वासन मात्रै पाएँ,’ मण्डलले गुनासो गरे, अब पैसा लिएर मात्रै फर्किने हो ।’

सर्लाही रामनगरका दिपेन्द्र यादव पनि उखुको बक्यौता माग गर्दै आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । चिनी मिलबाट आफ्नो रकम दिलाइदिन माग गर्दै काठमाडौंं आएका उनी भन्छन्, ‘पहिलेपटक आन्दोलन गरेर फर्किएपछि एक साता आउँछ, अर्को महिना आउँछ भन्दै वर्ष दिन कटायो । अब पैसा पाएन भने यही भोक हड्ताल गर्नुको विकल्प छैन ।’

आन्दोलनमा सहभागी सर्लाही बटौलीका गौरीशंखर पण्डितले पनि चार वर्षदेखि मिलबाट उखुको पैसा पाएका छैनन् । यसअघि कहिल्यै काठमाडौं नआएका उनी आफ्नो मिहेनतको मूल्य दिन माग गरिरहेका छन् । वर्षभरि पसिना बगाएर मिललाई बुझाएको उखुको मूल्य दिलाइदिन उनले सबैलाई अपीलसमेत गरे ।