ओलीले जबजसँग प्रधानमन्त्री पद साटे : माधव कुमार नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद पाउन ओलीले जबज साटेको आरोप लगाएका हुन् ।

‘जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति को ? केपी शर्मा ओली जी,’ नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नु पर्ने हो भने केपी शर्मा ओली जी नै हो ।’ पूर्वप्रधानमन्त्री नेपालले त्यसको प्रमाण आफूसँग भएको पनि बताए । पार्टीमा ओलीले नेतृत्व हस्तान्तरणको विषय उठाए पनि त्यसलाई विश्वास गर्ने आधार नभएको नेता नेपालले बताए ।

अहिले ओलीकै कारण पार्टीमा समस्या आएको पनि नेपालको भनाइ छ । ओली र उनी निकटका व्यक्तिहरुमा मै सर्बेसर्बा भन्ने अहंकार र अरुलाई अपमान गर्ने प्रवृत्ति रहेको आरोप लगाउँदै नेता नेपालले भने, ‘झूठका पुलिन्दा गर्न सिपालु, सबै कूकर्म गर्न सिपालु, उहाँ र उहाँसँग लागेका मान्छे संस्कारहीन मानिसहरु छन् । असंस्कारी, कूसंस्कारी भन्न सकिन्छ । त्यसमा धैर्यता छैन, संयम् छैन, आत्मालोचना दृष्टिकोण छैन, जनताका गुनासा, आलोचना असन्तुष्टि सुन्ने धैर्यता छैन । मै सबैथोक जान्ने सर्बेसर्बा भन्ने अहंकार छ । अरुलाई अपमान गर्ने प्रवृत्ति छ । अरुलाई मानमर्दन गर्दा रमाउने प्रवृत्ति छ ।’

आफूले चाहेको व्यक्ति नियुक्त गर्न नपाउँदा सरकारको काममा असर परेको भन्ने ओलीको भनाइबारे राखिएको जिज्ञासामा नेता नेपालले ओलीले छाडा ट्वीट गर्ने व्यक्तिहरु नियुक्त गरेको आरोप लगाए । ‘छाडा ट्वीट लेख्ने व्यक्तिहरुको नियुक्ति भएको छ । यी एकएक व्यक्तिहरुको सबैको कुकर्म गरेकाहरुको मसँग प्रमाण छ ।’

नेता नेपालले ओलीले नै निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न लगाएको आरोपसमेत लगाए । तर त्यो धम्कीको लागि मात्रै भएको बताउँदै नेपालले ओलीलाई पार्टीको माया भए नेकपा छोडेर एमालेमा नजाने बताए ।