एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस् म राजीनामा दिन्छु : मन्त्री विना मगर

विभिन्न प्राविधिक कठिनाइका कारण मेलम्ची आयोजनाको निर्माण अवधि थप लम्बिँदै जाने समाचार सार्वजनिक भइरहेको बेला खानेपानी मन्त्री विना मगरले मेलम्ची समयमै आउने दाबी गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले भनेकी छन्- ‘मेलम्ची समयमै आउँछ, काठमाडौवासी जनताहरु ढुक्क हुनुहोस् ।’

यस्तै, मन्त्री मगरले अर्को एक ट्वीटमार्फत खानेपानी मन्त्रालयमा एक रुपैयाँ मात्र भ्रष्टाचार भएको कसैले प्रमाणित गरेमा आफू राजीनामा दिन तयार रहेको जनाएकी छन् । अत्याधिक भ्रष्टाचार भएका मन्त्रालयमध्ये खानेपानी मन्त्रालय पनि रहेको चर्चा चलिरहेको परिवेशमा मन्त्री मगरको यस्तो चुनौती सार्वजनिक भएको हो । ट्वीट गर्दै उनले भनेकी छन्, ‘आज म प्रतिज्ञा गर्छु, खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस् म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छोड्छौँ ।’

यसै क्रममा देश सङ्घीयतामा गएपछि खानेपानी मन्त्रालयका संरचना र जनशक्ति प्रदेश सरकारलाई हस्तान्तरण भएसँगै मन्त्रालयलाई काममा कठिनाइ भएको उक्त मन्त्रालयले जनाएको छ । कार्यालय र त्यहाँ कार्यरत जनशक्ति हस्तान्तरण भए पनि सङ्घीय सरकारको खानेपानीका लागि आवश्यक संरचना निर्माण, वितरण र व्यवस्थापनको जिम्मेवारी कम नभएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यको भनाइ छ ।

पहिले सङ्घअन्तर्गतका संरचना र जनशक्ति भए पनि नयाँ संविधानका आधारमा अहिले अरु सरकारलाई हस्तान्तरण भइसकेको छ । पहिले सबै जिल्लामा रहेका कार्यालय अहिले हस्तान्तरण भएकाले १५ जिल्लामा मात्रै अस्थायी कार्यालय रहेको मन्त्रालयले जनाएको छ । पहिले झण्डै दुई हजार ५०० कर्मचारी रहेकामा समायोजनपछि झण्डै ४०० मात्रै कर्मचारी बाँकी रहेको भन्दै शाक्यले भने, ‘कर्मचारी र कार्यालय गए पनि काम तल गएको छैन ।’