गगन थापाले भने : ‘हावादारी सरकार मुर्दाबाद’

काठमाडाैं – देशव्यापी रुपमा सरकारको विरोधमा निस्किएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो प्रदर्शन जारी राखेको छ।

यसैबीच सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई नेपाली कांग्रेसका नेता गगन थापाले सम्बोधन गरेका छन्। विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ७ वटामध्ये ६ वटामा प्रदेश सरकार, ४ सयभन्दा बढी स्थानीय सरकार भए पनि सर्वसत्तावादी सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको बताए।

उनले भने, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउन एउटा पनि काम गर्न सकेको छैन, यस्तो नालायक सरकार मुर्दावाद।’ सरकारले कहिल्यै पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउने गरेको पनि बताए। नेता थापाले भने, ‘कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ। यस्तो हावादारी सरकार मुर्दाबाद।’

सरकारविरुद्ध देशव्यापी रुपमा आज नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिरहेको छ। विरोध प्रदर्शनका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद जिन्दावाद, नेपाली कांग्रेस–जिन्दावाद जिन्दावाद, सर्वसत्तावादी ओली सरकार –मुर्दावाद लगायतका नारा कांग्रेसले लगाएको छ।