तीन घण्टा लामो गलफत्तीपछि अध्यादेश फिर्ता गर्न ओली तयार

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बनेको छ।

प्रधानमन्त्री ओलीले सोमबार जारी गरेको अध्यादेश फिर्ता लिने र अध्यक्ष दाहालले संसदको विशेष अधिवेशन बोलाउ संकलित हस्ताक्षर फिर्ता लिने सहमति बनेको हो।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति बनेपछि स्थायी कमिटीको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी छन्। १ बजे बस्‍ने भनिएको बैठक अघि अध्यक्ष दाहाल र ओलीबीच एक घण्टा लामो छलफल भएको थियो।

नेकपा एकजना स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार आजै दुई पटकसम्म भएको छलफलपछि प्रधानमन्त्री ओली मंगलबार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्। अर्कातिर कार्यकारी अध्यक्ष दाहाल ओलीविरुद्ध संकलित हस्ताक्षर फिर्ता लिन तयार भएका छन्। ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले करिब ८० जना सांसदको हस्ताक्षर जुटाएको थियो।

जहाँ ओलीले दाहाललाई आफुविरुद्ध सचिवालयमा पेश गरिएको आरोप पत्र फिर्ता लिए मात्रै बैठकमा सहभागी हुने अडान लिएका थिए। आजै ओली-दाहाल पहिलो संवाद सकिएलगत्तै भीमबहादुर रावल र पम्फा भुसालसहितका सांसद करिब ८० जनाको हस्ताक्षर लिएर राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए।

तर शीतल निवासले उनीहरुको निवेदन दर्ता नै नगरी फर्काइदिएको थियो। स्थायी कमिटी रोकिएकै अवस्थामा दाहाल फेरि ओलीसँग संवादका लागि पुगेका थिए। जहाँ प्रचण्डको प्रस्ताव र ओली सरकारले ल्याएको अध्यादेश दुवै फिर्ता गरेर समझदारी बनेको हो।

ओलीले यसअघि अध्यक्ष दाहालले आफुविरुद्ध पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता भएमा मात्रै बैठकमा सहभागी हुने अडान लिएका थिए। स्थायी कमिटी सदस्य पोखरेलले दुवैजना एक स्टेप पछाडि हट्ने सहमतिमा पुगेको आफूले पनि सुनेको बताए। तर प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता भएको नभएको बारेमा स्रोतले केही जानकारी दिएको छैन।

उक्त सहमतिपछि अहिले ओलीको उपस्थितिमा स्थायी कमिटी बैठक बसिरहेको छ। आफुविरुद्ध दाहाल-नेपालले मोर्चाबन्दी गरेपछि गत वैशाखमा पनि ओलीले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश ल्याएका थिए। त्यसबेला पनि चर्को विरोध भएपछि दुवै अध्यादेशबाट ओली पछि हटेका थिए।