ओलीबाट देश र पार्टी चल्दैन : नेता खनाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले प्रदेश १ का नेता कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि तितो पोखेका छन् ।

अपराह्न १ बजे शुरू भएको भेला करीब अढाई घण्टा चलेको थियो । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओलीलाई एकलकाँटे कार्यशैली अपनाएको भन्दै आरोप लगाए । ‘दस्तावेजमा परिपूर्ण लोकतन्त्र भनेको छ, व्यवहार चाहिँ एकलकाँटे देखिएको छ,’ खनालको भनाइ उदृत गर्दै भेलामा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘अध्यादेशमार्फत संवैधानिक निकायमा आफ्ना खल्तीका मान्छे भर्न खोज्ने अनि परिपूर्ण लोकतन्त्र भन्ने ? यस्तो पनि हुन्छ ?’

खनालले पार्टी एकताअघिको पृष्ठभूमिदेखि लिएर अबको बाटो के हुनुपर्नेसम्मका विषयहरू राखेको ती नेताले बताए । ‘ओलीबाट देश र पार्टी चल्दैन भन्ने उहाँको आशय थियो,’ उनले भने ।