सामग्री अभाव भएपछी चावहिल-गौशाला सडककाे काम राेकियाे

काठमाण्डाै – निर्माण सामग्री अभावका कारण काठमाण्डाैको गौशाला–चावहिल सडक निर्माणको काम रोकिएको छ ।

यो महिनाको मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको हो ।

निर्माण सामग्री भए तोकिएको समयमा काम सम्पन्न हुने डिभिजन सडक कार्यालय काठमाण्डौका प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार लेलेमा रहेको ढुङ्गा, रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापदण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा बिक्री/वितरणमा रोक लगाउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधि सम्मिलित बैठकले अर्को सूचना नभएसम्मका लागि ती उद्योगमा रोक लगाएको थियो ।

ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाण्डौ उपत्यकाका धेरैजसो सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टीलगायत सामग्री आउने गरेको थियो । सडक निर्माण सम्पन्न गर्न अरु–अरु ठाउँबाट सामग्री ल्याउन सकिने भए पनि त्यसका लागि थप समय लाग्ने प्रमुख नेपालीले बताउनुभयो ।

यस्तै काठमाण्डौको पुतलीसडकबाट ज्ञानेश्वर हुँदै कमलपोखरीसम्मको सडक निर्माण पनि निर्माण सामग्री अभावकै कारण बन्द छ । सडक निर्माण भइरहेकै समयमा निर्माण सामग्री नहुँदा काम बीचैमा अलपत्र भएको देखिन्छ । गौशाला–चावहिल सडक गाडीको धेरै चाप रहेको उपत्यकाको सडकमध्ये एक हो ।