“पार्टीको लेटरप्याड दुरुपयोग गरेर अविश्वासको प्रस्ताव ल्याइएको थियो” – प्रधानमन्त्री

राष्ट्रको नाममा सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री केपी ओलीले पार्टीको लेटरप्याड समेत दुरुपयोग गर्दै संविधान, पार्टी र पद्धतिविपरित भित्रभित्रै आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको बताएका छन्।

ओलीले संसदीय दलको नेता र प्रधानमन्त्रीलाई थाहै नदिई संविधानविपरित पार्टी, पद्धति र प्रणालीलाई आघात पुर्‍याएपछि अवस्था गम्भीर बन्न पुगेको बताए। उनले पुस ४ गते मात्र अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आरोप पत्र फिर्ता लिन भन्दा समेत नमानेको बताएका छन्।

विशेष महाधिवेशन बोलाएर पार्टी नेतृत्वको पुस्तान्तरण गर्न प्रस्ताव गर्दा चार महिनासम्म कुर्न नसकिएको गुनासो गरे। उनले विपक्षी दललाई पनि उछिनेर सरकारविरूद्ध केही नेताले विरोध र नकारात्मक सोचमा लागेको बताए।

‘कतिपय विषय संसदमा छलफलमा गर्न नदिई रोक्ने काम भयो। घेराबन्दी कस्तो भयो भन्ने कुरामा तपाईंहरू अनभिज्ञ हुनुहुन्न,’ उनले भने। पाँच वर्षको नेतृत्वपछि आफूले कार्यकारी जिम्मेवारीबाट अवकाश लिने भनेको बताए।