पार्टी नफुटे पनि एकता भने भंग हुने र एमाले ब्युँतिन सक्ने प्रधानमन्त्रीको विश्लेषण

संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् । तर, पार्टी नफुटे पनि एकता भने भंग हुने र पूर्वसमूह ( एमाले र माओवादी) आ–आफ्नो बाटो लाग्न सक्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाए । आफूले संसद विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने कारणबारे बताउनका लागि ओलीले आफ्नो पक्षका नेताहरूलाई बालुवाटारमा बोलाएका थिए ।

आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिह्नलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिह्न प्रचण्ड समूहले पाउने उनले जनाउ दिए ।

बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन । त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरू आ-आफ्नो बाटो लाग्छन् ।’

प्रचण्ड-माधव पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षको सहमतिबिना त्यो बैठक बसेमा अवैधानिक हुने र पार्टी एकता भंग भई पूर्वसमूह (एमाले र माओवादी) जागृत हुने प्रधानमन्त्री ओलीले बताए ।

‘त्यसपछि आ-आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कोही (माधव नेपालहरू) प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्टजी हामीतिर आउनुभएको छ ।’

पार्टी एकता भंग भएको अवस्थालाई अध्ययन गरेर निर्वाचन आयोगले पनि फैसला लिने ओलीको विश्लेषण छ । उनको संकेत नेकपा एमाले ब्युँतिने र सूर्यचिह्न एमालेको भागमा पर्ने रहेको छ । त्यस्तै, उतापट्टि नेकपा नभएर माओवादी मात्र रहने र माधव नेपालहरू पनि नेकपा माओवादीको नेता बन्ने ओलीको तर्क रहेको स्रोतले बतायो । लेखराज भट्ट रामबहादुर थापा बादल यतातिर आएमा एमालेको नेता बन्ने उनले संकेत गरे ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजियो’

बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि संसद विघटन गर्नुपरेको बताएका छन् । राष्ट्रपतिमाथि आलोचना हुँदा सहँदै आएको तर महाअभियोग लगाएर गणतन्त्रलाई बदनाम गर्न खोजिएकाले संसद विघटन गरेको ओलीले बताएका छन् ।

‘बहुमत हुँदाहुँदै संसद किन विघटन गरियो भन्ने तपाईंहरूलाई पनि परेको होला, छातीमा लगाएको लोगो खोसिँदा दुःख लागेको होला’ बालुवाटारको भेलामा प्रधानमन्त्री ओलीले भने,‘ तर दुःख नमान्नोस्, प्रधानमन्त्रीलाई कामै गर्न दिइएन । अब फेरि केही महिनामै चुनाव भएर तपाईंहरू छानिएर आउन सक्नुहुन्छ । लोकतन्त्रमा कहिलेकाहीँ यस्तो हुँदोरहेछ ।’

सरकारलाई कामै गर्न नदिएर घेराबन्दी गरिएको र अध्यादेश ल्याएर काम गर्नुपर्ने अवस्था बनाएकाले बाहिरी कारणले नभई आफ्नै पार्टीभित्रको अवस्थाले संसद विघटन भएको प्रधानमन्त्रीले बताएका थिए ।