कुन समुहतिर जालान्‌ त बादल ?

पार्टीको आन्तरिक विवादमा दूवै समूहको तानातानमा परेका गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले बहुमतपक्षलाई साथ दिने संकेत गरेका छन् । सोमबार निकट नेताहरुको भेलामा नेता थापाले अन्तिम निर्णय भने दुवै अध्यक्षसँग छलफलपछि मात्रै लिने बताएका छन् ।

भेलामा आफूहरुले गैरसंवैधानिक कदमको पक्षमा नउभिन थापलाई सुझाव दिएको नेकपा नेता देव गुरुङले बताए । तर, थापाले भने अहिले दूवैतर्फ नलाग्ने र दुवै अध्यक्षसँग संवादपछि अन्तिम निर्णय लिने बताएको नेता गुरुङले बताए ।

भेलामा सहभागी एक केन्द्रीय सदस्यले थापाले सुझावको सम्मान गरेर निर्णय गर्ने बताएका थिए । भेलामा उपस्थित सबैजसो सदस्यले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएकोले त्यसको विरोधमा उत्रिनुपर्ने सुझाव दिएका थिए । गम्भीर राजनीतिक घटनाक्रम देखा परेकाले यसमा बीचमा बस्न नहुने नेताहरुको थापालाई सुझाव थियो ।

त्यसैअनुसार थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका छन् । पुल्चोकस्थित मन्त्री निवास पुगेर अध्यक्ष दाहालले थापासँग भेट गरेका थिए । गैरसंवैधानिक कदमको विपक्षमा उत्रिन दाहालले गरेको आग्रहमा थापाले यसबारे निकट नेताहरुसँग पनि परामर्श गरेको र उपयुक्त समयमा निर्णय लिने बताएका थिए ।