प्रचण्ड–नेपाल समूहद्वारा संसद् अधिवेशनको माग

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते चुनावको लागि स्वीकृति दिए पनि यो कदम गैर–संवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

साेमबार संसद् भवन नयाँ बानेश्वरमा भएको दुई पक्षको सांसदहरूको भेलाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम राष्ट्रघाती भएको उल्लेख गर्दै तत्काल संसद्को अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकले संविधानबमोजिम संसद् बैठक बोलाउने समय भइसकेकोले संसद् अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधि सभाको विघटन प्रस्ताव र त्यसलाई सिफारिस गर्दा संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ । संविधान बमोजिम संसद्को अधिवेशन बोलाउनुपर्ने समय भइसकेकोले संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न यो बैठक माग गर्दछ ।’

संसद् बैठक माग गर्दै प्रतिनिधि सभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदले हस्ताक्षर पनि गरेका छन् । यसको थप प्रक्रियाको लागि मङ्गलबार (भोलि) संसदीय दलको बैठक बोलाउने पनि दुई पक्षले निर्णय गरेका एक नेताले जानकारी दिएका छन् ।